हाम्रो बारेमा


नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारका अधिकार तथा जिम्मेवारीलाई स्पष्ट रूपमा बाँडफाँट गरी सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था गरेको छ । नेपालको संविधानको अनुसूची–६ मा प्रदेशको अधिकारको सूची व्यवस्था गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेशले आफ्नो क्षेत्रभित्र खेलकुदको विकास, विस्तार तथा प्रवर्द्धनका लागि आवश्यक नीति, योजना तथा कार्यक्रम सञ्चालन गर्ने आधार प्राप्त गरेको छ । संविधानप्रदत्त प्रदेशको अधिकारलाई कार्यान्वयन गर्ने क्रममा गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकुद विकास ऐन, २०७७ जारी गरी प्रदेशमा खेलकुद क्षेत्रको संस्थागत विकास र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद्, गण्डकी स्थापना गरेको हो । परिषद् गण्डकी प्रदेशमा खेलकुदको विकास, विस्तार, संरक्षण, प्रवर्द्धन तथा व्यवस्थापनका लागि स्थापित प्रदेशस्तरीय प्रमुख निकाय हो ।

परिषद्को प्रमुख उद्देश्य प्रदेशभित्र खेलकुदको पहुँच विस्तार गर्नु, प्रतिभावान खेलाडीको पहिचान तथा विकास गर्नु, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि गर्नु, खेलकुद प्रतियोगिताहरू सञ्चालन तथा समन्वय गर्नु र आवश्यक खेलकुद पूर्वाधारको विकास गर्नु हो । परिषद्अन्तर्गत प्रदेशका ११ जिल्लामा रहेका जिल्ला खेलकुद समितिहरूमार्फत जिल्लास्तरमा विभिन्न खेलकुदका गतिविधिहरू सञ्चालन तथा प्रवर्द्धन हुँदै आएका छन् । जिल्ला खेलकुद समितिहरूले स्थानीय तह, खेलकुद संघ–संस्था, विद्यालय तथा अन्य सरोकारवालासँग समन्वय गरी खेलाडी पहिचान, प्रशिक्षण, प्रतियोगिता सञ्चालन तथा खेलकुद गतिविधिको विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यस संरचनाले प्रदेशस्तरको खेलकुद नीति तथा कार्यक्रमलाई जिल्लास्तरसम्म पुर्‍याउन र जिल्लामा रहेका खेल प्रतिभालाई प्रदेश तथा राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुर्‍याएको छ ।

गण्डकी प्रदेशमा खेलकुदका विविध विधा तथा साहसिक खेलको विकासका लागि प्रशस्त सम्भावना रहेको छ । यस सम्भावनालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादन गर्ने, खेलकुदको माध्यमबाट प्रदेशको पहिचान स्थापित गर्ने तथा स्वस्थ, अनुशासित र सक्षम नागरिक निर्माणमा योगदान पुर्‍याउने दिशामा परिषद् क्रियाशील रहेको छ । यसरी, नेपालको संविधानले प्रदेशलाई प्रदान गरेको खेलकुदसम्बन्धी अधिकारलाई कार्यान्वयन गर्ने संस्थागत संयन्त्रका रूपमा प्रदेश खेलकुद परिषद्, गण्डकीले प्रदेशको खेलकुद नीति, योजना, कार्यक्रम, प्रशिक्षण, प्रतियोगिता, खेलाडी विकास तथा खेलकुद पूर्वाधार निर्माणलगायतका क्षेत्रमा समन्वयकारी र प्रवर्द्धनात्मक भूमिका निर्वाह गर्दै आएको छ। परिषद् र अन्तर्गतका जिल्ला खेलकुद समितिहरूमार्फत गण्डकी प्रदेशका ११ वटै जिल्लामा खेलकुद गतिविधिलाई व्यवस्थित, प्रभावकारी र व्यापक बनाउने कार्य निरन्तर भइरहेको छ ।